काठमाडौँ : नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि मनोनयन दर्ताको समय आज साँझ साढे ७ बजेसम्म मात्रै तोकिएको छ। केन्द्रीय निर्वाचन समितिका संयोजक सीताराम केसीका अनुसार मंगलबार साँझ साढे ६ बजेदेखि साढे ७ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिनेछ। तोकिएको समयपछि मनोनयनका लागि समय नथपिने उनले स्पष्ट पारे।
यसअघि आजै मतदान हुने भनिए पनि मतदान कार्यक्रम ( बुधबार ) भोलिका लागि सारिएको छ। मतदानसहित बाँकी कार्यक्रम भोलिदेखि सञ्चालन हुने केसीले जानकारी दिए। विशेष महाधिवेशनस्थलबाट सभापति पदका लागि चार जनाले उम्मेदवारी फारम लगेका छन्। तर ती फारम कसका लागि लगिएको हो भन्ने खुलिसकेको छैन। पदाधिकारीका अन्य पदका लागि पनि ३० वटा फारम लगिएको छ।
सभापति पदका लागि उम्मेदवारी शुल्क ३० हजार रुपैयाँ तोकिएको छ। केन्द्रीय उपसभापति र महामन्त्री पदका लागि समान २५ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ। सहमहामन्त्रीका लागि २० हजार रुपैयाँ र केन्द्रीय सदस्यका लागि १० हजार रुपैयाँ शुल्क तोकिएको छ। फारम लग्दा शुल्क बुझाउन नपरे पनि मनोनयन दर्ताका बेला भने शुल्क बुझाउनुपर्नेछ।
