काठमाडौँ : अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोशल’मा आफूलाई भेनेजुएलाको ‘कार्यवाहक राष्ट्रपति’ भन्दै एक तस्वीर पोस्ट गरेका छन्।
उक्त पोस्टमा ट्रम्पको आधिकारिक पोर्ट्रेट तस्वीर राखिएको छ। जसमा ‘कार्यवाहक राष्ट्रपति, भेनेजुएला, वर्तमान कार्यकाल जनवरी २०२६’ भनेर लेखिएको छ। साथै, उनी संयुक्त राज्य अमेरिकाका ४५औँ र ४७औँ राष्ट्रपति भएको र सन् २०२५ जनवरी २० मा पद सम्हालेको उल्लेख गरिएको छ। तर, भेनेजुएलामा हाल अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेज रहेकी छन्।
यसै महिनाको सुरुमा अमेरिकाले भेनेजुएलाविरुद्ध ‘ठूलो स्तरको’ आक्रमण गरेको थियो। सो क्रममा राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरी उनकी पत्नी सिलिया फ्लोरेससहित न्यूयोर्क लगिएको थियो। उनीहरूमाथि नार्को–आतंकवादसम्बन्धी षड्यन्त्रको आरोप लगाइएको छ। आइतबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भेनेजुएलाबाट अमेरिकातर्फ पठाइने भनिएको पाँच करोड ब्यारेल तेल बाटोमै रहेको र यसको मूल्य करिब ४ अर्ब २० करोड डलर रहेको बताएका थिए।
