लभ होटल विवादपछि राजीनामा दिएकी पूर्व मेयर ओगावा पुनः भारी मतसहित निर्वाचित

टोकियो – आफ्नै कार्यालयका एक विवाहित कर्मचारीसँग पटक–पटक ‘लभ होटल’ गएको विवादपछि पदबाट राजीनामा दिएकी जापानको माएबासी सहरकी पूर्व मेयर अकिरा ओगावा पुनः भारी मतसहित निर्वाचित भएकी छन् ।

सोमबार सम्पन्न मेयर निर्वाचनमा उनले अन्य चार प्रतिस्पर्धीलाई पराजित गर्दै प्रभावशाली पुनरागमन गरेकी हुन् । विवादका कारण गत नोभेम्बरमा तीव्र दबाबबीच पद त्याग गरेकी ४३ वर्षीया ओगावाले यसपटक मतदाताबाट पुनः जनादेश पाएकी छन् ।

होटल भ्रमणको तथ्य स्वीकार गरे पनि उनले ती कर्मचारीसँग कुनै प्रेम सम्बन्ध नरहेको दाबी गर्दै आएकी छन् । जितपछि समर्थकहरूलाई सम्बोधन गर्दै उनले भनिन्, “मेरो विचारशून्य व्यवहारले देशभर हलचल पैदा गर्‍यो । अबका दिनमा आफ्ना कार्यहरूमार्फत म जनताको विश्वास पुनः जित्नेछु ।”

पेशाले वकिल रहेकी ओगावा सन् २०२४ मा माएबासी सहरको इतिहासमा पहिलो महिला मेयर बनेकी थिइन् । यसपटकको निर्वाचनमा उनलाई कन्स्टिच्युसनल डेमोक्रेटिक पार्टी अफ जापान र डेमोक्रेटिक पार्टी फर द पिपुलको समर्थन थियो ।

साथै, रूढीवादी तथा स्वतन्त्र मतदाताको उल्लेखनीय साथ पाएको विश्वास गरिएको छ । विवादका बाबजुद मतदाताले विकास र सुधारको एजेन्डालाई प्राथमिकता दिएको विश्लेषकहरूको भनाइ छ ।

More From Author

चीनको निर्यात कडाइको असर, जापानले आफ्नै समुद्रमा खनिज खोज तीव्र बनायो

ट्रम्पले आफूलाई ‘भेनेजुएलाको कार्यवाहक राष्ट्रपति’ घोषणा गरे

Leave a Reply

Your email address will not be published. Required fields are marked *