जापानमा भारी हिमपात हुँदा दुई वृद्धको मृत्यु

टोकियो — जापानको अकिता प्रिफेक्चरमा भारी हिमपातका कारण भएका दुई छुट्टाछुट्टै दुर्घटनामा दुई वृद्धको ज्यान गएको छ। स्थानीय प्रहरीका अनुसार शनिबार ८० वर्ष उमेर समूहका दुई व्यक्तिको हिउँसम्बन्धी घटनामा मृत्यु भएको हो।

अकिता शहरमा ८२ वर्षीय कुनियो ताकाहाशी आफ्नै घरको छानाबाट खसेको हिउँले पुरिएर गम्भीर घाइते भएका थिए। उनकी श्रीमतीले बिहान करिब ११:२० बजे आपतकालीन नम्बर ११९ मा फोन गरी श्रीमान हिउँले पुरिएको जानकारी गराएकी थिइन्। ताकाहाशी घरको मुख्य प्रवेशद्वार नजिकै करिब एक मिटर बाक्लो हिउँले पुरिएको अवस्थामा फेला परेका थिए। उद्धारपछि उनलाई अस्पताल लगिएको थियो, तर करिब दुई घण्टापछि चिकित्सकले मृत घोषणा गरे।

श्रीमतीका अनुसार बाहिरको अवस्था बुझ्न निस्किएका बेला एक्कासि ठूलो आवाजसहित छानाबाट खसेको हिउँले उनलाई पुरेको थियो।

त्यस्तै, योकोते शहरमा ८८ वर्षीय आत्सुशी इगारशी हिउँ पन्छाउने क्रममा घरको छानाबाट चिप्लिएर भुइँमा खसेका थिए। साँझ करिब ७ बजे भएको उक्त घटनामा गम्भीर घाइते भएका इगारशीलाई अस्पताल पुर्‍याइएको थियो। प्रहरीका अनुसार उनलाई हृदयाघात भएको र त्यसको करिब साढे दुई घण्टापछि उनको मृत्यु भएको हो।

प्रहरी र स्थानीय प्रशासनले भारी हिमपातका बेला विशेष सावधानी अपनाउन, एक्लै छानामा नचढ्न तथा सम्भव भए सामूहिक रूपमा हिउँ हटाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।

More From Author

जापानले फेर्‍यो भिसा र राहदानी शुल्क

अध्ययनका लागि जापान पुगेका २३ वर्षीय निरज सुतेकै ठाउँमा मृत फेला

Leave a Reply

Your email address will not be published. Required fields are marked *