टोकियो : जापानको हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा प्रधानमन्त्री सानाय ताकाइची नेतृत्वको सत्तारुढ दलले प्राप्त गरेको सानदार जितपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले उक्त सफलतामा आफ्नो समर्थनले महत्वपूर्ण भूमिका खेलेको दाबी गरेका छन् । उनले ताकाइचीलाई “अद्भुत नेता” भन्दै चुनावअघि दिएको आफ्नो पूर्ण समर्थनले मतदातामा सकारात्मक प्रभाव पारेको बताएका छन् ।
फेब्रुअरी ८ मा सम्पन्न निर्वाचनमा ताकाइची नेतृत्वको लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) ले प्रतिनिधि सभामा दुई तिहाइ बहुमत हासिल गरेको छ, जुन जापानको युद्धपछिको इतिहासमा कुनै एकल पार्टीले पाएको सबैभन्दा ठूलो सफलतामध्ये एक मानिएको छ । चुनावअघि ट्रम्पले सामाजिक सञ्जालमार्फत ताकाइची र उनको गठबन्धनलाई “पूर्ण र समग्र समर्थन” दिने घोषणा गरेका थिए ।
निर्वाचन परिणामपछि ट्रम्पले जापानसँग अमेरिकाको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गर्दै आफूलाई यस जितले सम्मानित महसुस गराएको बताए । यसैबीच, आगामी मार्च १९ मा ताकाइचीलाई ह्वाइट हाउस मा स्वागत गर्ने कार्यक्रम तय भएको छ । जापानकी पहिलो महिला प्रधानमन्त्री बनेकी ताकाइची र ट्रम्पबीचको भेटवार्तालाई दुवै देशबीचको कूटनीतिक सम्बन्धका दृष्टिले महत्वपूर्ण मानिएको छ ।
