जापानका पाँच सहरमा राजेश हमालको मोटिभेसनल टुर हुँदै, प्रवेश निःशुल्क

टोकियो – जापानमा बसोबास गर्ने नेपाली समुदायका लागि प्रेरणा, आत्मविश्वास र सकारात्मक सोच अभिवृद्धि गर्ने उद्देश्यले नेपाली सिने जगतका महानायक राजेश हमालको प्रमुख उपस्थितिमा विशेष मोटिभेसनल कार्यक्रम आयोजना हुने भएको छ।

“सपना, साधना र सफलता : युगदेखि युगसम्म” शीर्षकमा सञ्चालन हुने यो कार्यक्रम गैरआवासीय नेपाली संघ (NRNA NCC–Japan) को आयोजनामा तथा अनेसास जापानको सह–आयोजनामा जापानका प्रमुख पाँच सहरमा क्रमशः सम्पन्न गरिनेछ।

कार्यक्रममा महानायक हमालले आफ्नो जीवनयात्रा, निरन्तर साधना, संघर्ष र सफलतासम्मका अनुभव साझा गर्दै सहभागीहरूलाई प्रेरणादायी मन्तव्य प्रदान गर्नुहुनेछ।

साथै उहाँद्वारा लिखित चर्चित पुस्तक “युगदेखि युगसम्म” सहभागीहरूका लागि लेखक स्वयंको हस्ताक्षरसहित उपलब्ध गराइने व्यवस्था गरिएको छ। सबै कार्यक्रम निःशुल्क रहने आयोजकले जनाएको छ।

कार्यक्रमको तालिका अनुसार टोकियोमा फेब्रुअरी ११ (बुधबार) साँझ ६:३० बजेबाट Nakano Zero Hall, Nakano City मा कार्यक्रम हुनेछ।

त्यसैगरी शिजुओकामा फेब्रुअरी १४ (शनिबार) साँझ ६:०० देखि ९:०० बजेसम्म Miraie Community Hall मा कार्यक्रम आयोजना गरिनेछ।

नागोयामा फेब्रुअरी १५, २०२६ मा साँझ ५:०० बजेबाट Nagoya International Center मा कार्यक्रम तय गरिएको छ।

कान्साइ क्षेत्रअन्तर्गत ओसाकामा फेब्रुअरी १७ (मंगलबार) ४:३० देखि ९:१५ बजेसम्म Osaka Abeno Civic Center मा कार्यक्रम सञ्चालन हुनेछ भने फुकुओकामा फेब्रुअरी १९ (बिहीबार) साँझ ६:०० बजेबाट Hakata Cimin Center मा कार्यक्रम सम्पन्न हुनेछ।

यो प्रेरणादायी श्रृंखला विशेषगरी युवा पुस्ता, विद्यार्थी, श्रमिक तथा व्यवसायीहरूलाई लक्ष्य, आत्मअनुशासन र सकारात्मक सोचतर्फ प्रेरित गर्ने उद्देश्यले आयोजना गरिएको हो।

टोकियोसँगै ओसाका, फुकुओका, शिजुओका र नागोयामा समेत कार्यक्रम सञ्चालन हुने भएकाले जापानभर छरिएर रहेका नेपाली समुदाय प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास आयोजकले व्यक्त गरेका छन्।

NRNA NCC–Japan ले टोकियो तथा आसपासका साथै अन्य सहरहरूमा बसोबास गर्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई उपस्थित भई कार्यक्रमलाई सफल बनाउन अनुरोध समेत गरेको छ।

More From Author

जापानमा मतदाता तान्न दलहरूबीच ‘अनौठा’ बाचाको होडबाजी

महाशिवरात्रिको तयारीस्वरुप पशुपति क्षेत्रमा सफाइ

Leave a Reply

Your email address will not be published. Required fields are marked *