जापानबाट चीन जाने यात्रुको संख्यामा भारी गिरावट

टोकियो – जापान र चीनबीच बढ्दो कुटनीतिक तनावको प्रत्यक्ष असर जनस्तरको आवतजावतमा देखिन थालेको छ । नयाँ वर्षको बिदाका समयमा जापानको ओसाकास्थित प्रमुख विमानस्थलबाट चीनतर्फ जाने यात्रुको संख्या अघिल्लो वर्षको तुलनामा झन्डै आधाले घटेको मंगलबार सार्वजनिक अध्यागमन तथ्याङ्कले देखाएको छ ।

गत नोभेम्बरमा जापानी प्रधानमन्त्री सानाए ताकाइचीले ताइवानमा आइपर्ने आपतकालीन अवस्थामा जापानले जनाउन सक्ने प्रतिक्रियाबारे दिएको अभिव्यक्तिपछि दुई देशबीचको सम्बन्ध चिसिएको थियो । प्रधानमन्त्रीको उक्त अभिव्यक्तिले आक्रोशित बनेको बेइजिङले बदलास्वरूप आफ्ना नागरिकहरूलाई जापान भ्रमण नगर्न सुझाव दिएको थियो ।

ओसाकास्थित अध्यागमन कार्यालयको कान्साई विमानस्थल शाखाको प्रारम्भिक तथ्याङ्कअनुसार, डिसेम्बर २६ देखि जनवरी ४ को बीचमा कान्साई अन्तर्राष्ट्रिय विमानस्थल हुँदै चीन जाने यात्रुको संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४८ प्रतिशतले घटेर ५५,१७० मा सीमित भएको छ । सो अवधिमा विमानस्थल प्रयोग गरी जापान भित्रिने र बाहिरिने कुल यात्रुको संख्या पनि अघिल्लो वर्षको तुलनामा २ प्रतिशतले घटेर ७ लाख ४७ हजार ६२० पुगेको छ । कुल यात्रुमध्ये करिब ७० प्रतिशत (५ लाख १५ हजार ४३०) विदेशी नागरिक थिए ।

अघिल्लो वर्ष यात्रुहरूको गन्तव्य सूचीमा पहिलो नम्बरमा रहेको चीन यसपटक तेस्रो स्थानमा झरेको छ । यस वर्ष दक्षिण कोरिया १ लाख २७ हजार ९९० यात्रुसहित सबैभन्दा लोकप्रिय गन्तव्य बनेको छ भने ताइवान ५९,९७० यात्रुसहित दोस्रो स्थानमा उक्लिएको छ ।

विमानस्थल सञ्चालक ‘कान्साई एयरपोर्ट्स’ का अनुसार यात्रु मात्र नभई उडान संख्यामा पनि भारी कटौती भएको छ । डिसेम्बर महिनामा चीनतर्फ हुने उडानको संख्या अघिल्लो वर्षको तुलनामा करिब ६० प्रतिशतमा खुम्चिएर २,२८६ मा झरेको छ ।

प्रधानमन्त्री ताकाइचीले संसदमा बोल्दै ताइवानमाथिको आक्रमणले जापानको सुरक्षा फौजको प्रतिक्रियालाई निम्त्याउन सक्ने संकेत गरेपछि बेइजिङले टोकियोप्रति कडा रबैया अपनाउँदै आएको छ । चीनले ताइवानलाई आफ्नो विद्रोही प्रान्त मान्दै आएको छ र आवश्यक परे बल प्रयोग गरेरै भए पनि मुख्यभूमिमा गाभ्ने चेतावनी दिँदै आएको छ ।

More From Author

काठमाडौं–१ बाट अधिवक्ता कमल कोइरालाको स्वतन्त्र उम्मेदवारी घोषणा

ठगी धन्दा चलाउने १३ जापानी पक्राउ

Leave a Reply

Your email address will not be published. Required fields are marked *