टोकियो : जापानको मौसम विज्ञान विभागले आगामी तीनदिने बिदाको समयमा देशका अधिकांश भूभागमा भीषण हिमपात हुन सक्ने चेतावनी जारी गरेको छ। सोमबार ‘कमिङ अफ एज डे’ का अवसरमा राष्ट्रिय बिदा परेकाले यो सप्ताहान्त लगातार तीन दिनको सार्वजनिक बिदा रहेको छ।
विभागका अनुसार विशेषगरी ‘सी अफ जापान’ (जापानी सागर) को तटीय क्षेत्र र उत्तरी जापानमा तीव्र हावाहुरी चल्नुका साथै अग्ला समुद्री छालहरू आउन सक्ने जोखिम छ। आइतबार साँझ ६ बजेसम्मको २४ घण्टाभित्र उत्तर–पूर्वी तोहोकु क्षेत्रमा १०० सेन्टिमिटरसम्म हिमपात हुने सम्भावना रहेको छ। त्यसैगरी, होकुरिकु र चुगोकु क्षेत्रका केही भागहरूमा ५० सेन्टिमिटरसम्म हिउँ पर्ने पूर्वानुमान गरिएको छ।
खराब मौसमका कारण यातायात सेवा अवरुद्ध हुन सक्ने, बिजुली तथा सञ्चार सेवामा समस्या देखिन सक्ने र जनजीवन प्रभावित हुने आशंका गरिएको छ। यसलाई मध्यनजर गर्दै सरकारले आम नागरिकलाई अनावश्यक यात्रा नगर्न, सुरक्षित स्थानमा बस्न र आपतकालीन तयारी अवस्थामा रहन आग्रह गरेको छ। स्थानीय सरकारहरूलाई पनि सम्भावित जोखिम न्यूनीकरणका लागि पूर्ण तयारी अवस्थामा रहन निर्देशन दिइएको छ। परिस्थितिको निगरानी तथा सूचना संकलनका लागि विशेष सम्पर्क कार्यालयसमेत स्थापना गरिएको छ।
प्रधानमन्त्री सानाय ताकाइचीले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत नागरिकहरूलाई सुरक्षित रहन अपिल गर्दै भनिन्, “कृपया आफ्नो जीवन रक्षाका लागि समयमै आवश्यक कदम चाल्न नहिचकिचाउनुहोला।” मौसम विभागले पछिल्ला सूचनाहरू नियमित रूपमा सार्वजनिक गर्ने जनाएको छ।
