टोकियो : जापानमा नयाँ वर्षको बिदाका अवसरमा सिन्कान्सेन (बुलेट ट्रेन) र एक्सप्रेस रेल प्रयोग गर्ने यात्रुहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । १० दिने लामो बिदाको अवधिमा १ करोड ३७ लाख १० हजार यात्रुले रेल सेवा लिएका छन् । रेल सञ्चालकहरूका अनुसार सन् १९९१ देखि उपलब्ध तथ्याङ्कलाई आधार मान्दा दैनिक औसत यात्रु सङ्ख्याको हिसाबले यो हालसम्मकै उच्च कीर्तिमान हो ।
जापानका ६ वटा रेलवे कम्पनीहरू (जापान रेलवे-जेआर) का अनुसार, डिसेम्बर २६ देखि जनवरी ४ सम्मको तथ्याङ्क हेर्दा अघिल्लो वर्षको तुलनामा ५ प्रतिशतले वृद्धि देखिएको छ । यस वर्ष लामो बिदा परेका कारण बढेको उच्च यात्रा माग र सोही अनुसार थपिएका रेल सेवाहरूले यात्रुको सङ्ख्या बढाउन मद्दत पुर्याएको हो ।
टोकियो र ओसाका जोड्ने ‘तोकाइदो सिन्कान्सेन’ लाइनमा मात्रै ४४ लाख २० हजार यात्रुले यात्रा गरे, जुन अघिल्लो अवधिको तुलनामा ७ प्रतिशतले बढी हो । बिदाको अन्तिम दिन मात्रै उक्त लाइनमा ५ लाख १६ हजार यात्रुले यात्रा गरेर एकै दिनमा सर्वाधिक यात्राको कीर्तिमान समेत कायम गरेका छन् ।
त्यस्तै, टोकियो र फुकुई प्रिफेक्चरको सुरुआ जोड्ने ‘होकुरिकु सिन्कान्सेन’ लाइनमा ९ प्रतिशतसम्मको बलियो वृद्धि देखिएको छ । अन्य धेरै सिन्कान्सेन लाइनहरूमा पनि सन्तोषजनक वृद्धि देखिएको छ; जसमा निगाता समेट्ने जोएत्सु लाइनमा ६ प्रतिशत र ओसाका तथा फुकुओका जोड्ने सान्यो लाइनमा ५ प्रतिशतले वृद्धि भएको छ । यद्यपि, थोरै मात्र गिरावट आएका लाइनहरूमध्ये होक्काइदो सिन्कान्सेन लाइनमा भने ६ प्रतिशतले कमी आएको रेलवे सञ्चालकहरूले जनाएका छन् ।
तथ्याङ्कअनुसार टोकियोबाट बाहिरिने यात्रुहरूको चाप डिसेम्बर २७ मा सर्वाधिक थियो भने टोकियो फर्कनेहरूको चाप जनवरी ४ मा उच्च रहेको थियो । रेल मात्र नभई सोही अवधिमा हवाई यात्रुहरूको सङ्ख्यामा पनि वृद्धि भएको छ । वायुसेवा कम्पनीहरूका अनुसार आन्तरिक उडान भर्ने यात्रुको सङ्ख्या १ प्रतिशतले बढेर ३४ लाख ८० हजार पुगेको छ भने अन्तर्राष्ट्रिय उडानमा १० प्रतिशतको उछाल आउँदै ७ लाख २० हजार पुगेको छ ।
