नेपाल र जापानबीचको कुटनीतिक सम्बन्ध ७० औँ वर्षमा प्रवेश गरिरहँदा काठमाडौंमा जापानी सम्राटको ६६ औँ जन्मोत्सव तथा राष्ट्रिय दिवस भव्य रूपमा मनाइएको छ। मंगलबार साँझ ताहाचलस्थित जापानी राजदूत मायदा तोरुको निवासमा विशेष समारोह गरिएको हो।
कार्यक्रममा उपराष्ट्रपति रामसहाय प्रसाद यादवसहित सरकारका मन्त्री तथा पूर्वमन्त्रीहरू पनि थिए। राजदूतले वाइन र उपराष्ट्रपतिले जुसको ग्लास लिएर टोष्ट गरेका थिए।
उपराष्ट्रपति रामसहाय प्रसाद यादव प्रमुख अतिथि रहेको उक्त समारोहमा राजदूत तोरुले हालै राष्ट्रपति रामचन्द्र पौडेलले गरेको जापान भ्रमणको चर्चा गर्दै दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको बताए।
फागुन १ देखि ५ गतेसम्म राष्ट्रपति पौडेलले गरेको जापान भ्रमणले सहकार्यको नयाँ ढोका खोलेको राजदूत मायदाले बताए। ‘नेपाल र जापानबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको यो ऐतिहासिक अवसरमा राष्ट्रपतिज्यूको भ्रमणले मित्रतालाई थप प्रगाढ बनाएको छ,’ उनले भने, ‘यसले आगामी दिनमा दुई देशबीच थप सहकार्यका नयाँ मार्गहरू प्रशस्त गरेको छ।’
उनले जापान नेपालको शान्ति, समृद्धि र दिगो विकासको यात्रामा सधैँ साझेदार बन्न प्रतिबद्ध रहेको समेत दोहोर्याए। जापानले हरेक वर्ष आफ्ना सम्राटको जन्मदिनलाई राष्ट्रिय दिवसका रूपमा मनाउँदै आएको छ।
