ताकाइचीको ऐतिहासिक जित, एलडिपीलाई तल्लो सदनमा भारी बहुमत

टोकियो – जापानमा आइतबार सम्पन्न तल्लो सदनको निर्वाचनमा प्रधानमन्त्री सानाए ताकाइचीको नेतृत्वमा रहेको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) ले भारी बहुमत हासिल गर्ने निश्चितजस्तै देखिएको छ।

जापानको इतिहासमै पहिलो महिला प्रधानमन्त्री बनेको केही महिनामै निर्वाचनमा होमिएकी ताकाइचीले लिएको राजनीतिक जोखिम सफल भएको नतिजाले पुष्टि गरेको छ। प्रतिकूल मौसमका बीच सम्पन्न यस निर्वाचनमा ३६ वर्षपछि पहिलो पटक फेब्रुअरी महिनामा मतदान गराएको भन्दै आलोचना भए पनि जनमतले ताकाइचीप्रतिको विश्वास अझै बलियो रहेको देखाएको छ।

प्रारम्भिक मतगणनाअनुसार सत्तारुढ गठबन्धन—एलडिपी र जापान इनोभेसन पार्टी—ले कुल ३०० देखि ३६६ सिट जित्ने अनुमान गरिएको छ। समाचार तयार पार्दासम्म एलडिपीले २५१ सिट र सत्ता साझेदार जापान इनोभेसन पार्टीले २३ सिट पक्का गरिसकेका छन्। यसविपरीत विपक्षी दलहरूको ‘सेन्ट्रिस्ट रिफर्म एलायन्स’ अपेक्षाकृत कमजोर प्रदर्शनमा सीमित भएको छ।

निर्वाचनअघि नै गठबन्धनले बहुमत ल्याउन नसके पदबाट राजीनामा दिने घोषणा गरेकी ताकाइचीको यो जितसँगै उनको नेतृत्व थप सुदृढ भएको छ। यसले जापानको रक्षा क्षमता विस्तार र आक्रामक आर्थिक नीतिहरू अघि बढाउन सरकारलाई बलियो आधार दिनेछ।

पछिल्ला रिपोर्टहरूमा ताकाइचीले क्याबिनेटमा ठूलो हेरफेर नगर्ने संकेत गरेको बताइएको छ। नयाँ सरकारको प्रमुख प्राथमिकतामा महँगी नियन्त्रण, कर छुट तथा आर्थिक स्थायित्वका कार्यक्रम रहने अपेक्षा गरिएको छ।

More From Author

राउटेले बनाएका भाँडा किन्नेभन्दा फोटो खिच्ने धेरै

जापानमा प्रधानमन्त्री ताकाइचीको पार्टीलाई भारी बहुमत

Leave a Reply

Your email address will not be published. Required fields are marked *