उडुस सुँघ्दै कुकुर: जापानको हस्पिटालिटी क्षेत्रमा नयाँ ट्रेन्ड

टोकियो – जापानको हस्पिटालिटी क्षेत्रमा उडुस (बेडबग) नियन्त्रणका लागि तालिमप्राप्त कुकुरको प्रयोग नयाँ ट्रेन्डका रूपमा फैलिन थालेको छ। पछिल्लो समय होटल र अतिथि गृहमा उडुसको गुनासो बढेपछि तीव्र सुँघ्ने क्षमतायुक्त कुकुरमार्फत कोठा, बिस्तारा र फर्निचर निरीक्षण गर्न थालिएको हो।

विशेषज्ञहरूका अनुसार मानिसले आँखाले करिब ३० प्रतिशत मात्र उडुस पत्ता लगाउन सक्छन् भने तालिमप्राप्त कुकुरले उडुस वा तिनका फुलहरू ९५ प्रतिशतसम्म पहिचान गर्न सक्छन्। आकारमा ५ देखि ८ मिलिमिटर मात्र हुने उडुस बिस्ताराको सिलाइ, सोफा र काठका कुनाकाप्चामा लुक्ने भएकाले मानिसका लागि फेला पार्न कठिन हुन्छ।

दोस्रो विश्वयुद्धपछि लगभग नियन्त्रणमा आएको उडुस समस्या कोभिड–१९ पछि विदेशी पर्यटकको आगमन बढेसँगै पुनः देखिन थालेको बताइन्छ। विशेषज्ञहरूका अनुसार पर्यटकको लगेज र जुत्तामार्फत उडुस जापान भित्रिएको हो। सन् २०२३ र २०२४ मा उडुससम्बन्धी उजुरी अघिल्ला वर्षको तुलनामा उल्लेख्य रूपमा बढेका छन्।

असान्ते इन्क अन्तर्गत तालिमप्राप्त कुकुर ‘एल’ र उसका ह्यान्डलर अतारु सिमोयामा हाल होटल निरीक्षणमा व्यस्त छन्। यस्ता कुकुरले हजारौँ होटल कोठा जाँच गरिसकेका छन्। यद्यपि, केही होटल सञ्चालकहरू भने कुकुर प्रयोग गरेको तथ्य सार्वजनिक गर्न हिचकिचाउने गरेका छन्। ग्राहकले गलत अर्थ लगाउन सक्ने डर रहे पनि नियमित जाँचले होटल सुरक्षित छ भन्ने सन्देश दिन सकिने सिमोयामाको भनाइ छ।

More From Author

पाँच वर्षमा ठोस रूपमा उपलब्धि हासिल गर्नसक्ने गरी घोषणा पत्र ल्याउँछौँः अध्यक्ष ओली

आधुनिकतासँगै सङ्कटमा पर्‍यो राना थारु समुदायको डोली–चन्डोल बोक्ने परम्परा

Leave a Reply

Your email address will not be published. Required fields are marked *