टोकियो : टोकियोको सुगिनामी वडामा अदालतको आदेशबमोजिम घर खाली गराउन पुगेका दुई जनामाथि बिहीबार छुरा प्रहार भएको छ । उक्त आक्रमणमा परी एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
प्रहरीले आक्रमणमा संलग्न ४० वर्षीय व्यक्तिलाई ‘हत्या प्रयास’ को अभियोगमा पक्राउ गरेको छ । घटनामा संलग्न ती व्यक्तिले आफूलाई हिरोशी यामामोटो भनी चिनाएका छन् । प्रहरीले उनलाई घटनास्थलबाट केही सय मिटर टाढा पक्राउ गरेको थियो । घटनास्थलबाट भान्सामा प्रयोग हुने एउटा चक्कु बरामद गरिएको प्रहरीले जनाएको छ ।
छुरा प्रहारबाट गम्भीर घाइते भएका ‘रेन्ट ग्यारेन्टी कम्पनी’ (कोठा भाडा जमानी बस्ने संस्था) का कर्मचारीको पछि मृत्यु भएको पुष्टि भएको छ । त्यस्तै, आक्रमणमा परेका अर्का व्यक्ति अदालतका अधिकारी (कोर्ट इन्फोर्समेन्ट अफिसर) हुन्, जसको उपचार भइरहेको छ र उनी खतरामुक्त रहेको बताइएको छ । पीडित दुवै जना ६० वर्ष उमेर समूहका हुन् ।
अनुसन्धान स्रोतका अनुसार अभियुक्तले लामो समयदेखि कोठा भाडा तिरेका थिएनन्। प्रहरी समक्ष उनले आफ्नो अपराध स्वीकार गर्दै बयान दिएका छन् । स्रोतलाई उद्धृत गर्दै प्रहरीले भन्यो, ‘बस्ने बास नै गुम्न लागेपछि मैले आत्महत्या गर्ने सोच बनाएँ र (त्यसअघि) उनीहरूलाई छुरा प्रहार गरें ।’
बिहीबार बिहान करिब १०:१५ बजे घटनाबारे प्रहरीलाई खबर गरिएको थियो । प्रहरीका अनुसार, जब ती दुई अधिकारी अपार्टमेन्टमा पुगे, अभियुक्तले हातमा धुवाँ निस्किरहेको एउटा बाकस समातेका थिए । अधिकारीहरू खतरा महसुस गरी सडकतिर भाग्न खोज्दा अभियुक्तले अदालतका कर्मचारीको छातीमा र अर्का व्यक्तिको पिठ्युँमा छुरा प्रहार गरेका थिए । त्यसलगत्तै, ती व्यक्तिले पोर्टेबल चुलोको ग्यास सिलिन्डर बालेर कोठामा आगो लगाएको प्रहरीले जनाएको छ ।
आफ्ना कर्मचारी पठाएको टोकियो जिल्ला अदालतले एक विज्ञप्ति जारी गर्दै यो घटनालाई ‘अत्यन्त खेदजनक’ बताएको छ । अदालतले भविष्यमा यस्ता कारबाहीका क्रममा कर्मचारीको सुरक्षा सुनिश्चित गर्न आवश्यक उपायहरूबारे गम्भीरतापूर्वक विचार गरिने जनाएको छ ।
