सरकारले शान्ति सुरक्षा कायम गर्न सकेन : ओली

झापा : भयरहित चुनावका लागि सरकारले शान्ति सुरक्षा कायम गर्न नसकेको नेकपा  एमालेका अध्यक्ष केपी शर्मा ओलीले टिप्पणी गरेका छन्। सोमबार दमकमा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार भेटघाटका क्रममा अध्यक्ष ओलीले सरकारले शान्ति सुरक्षाप्रति गम्भीरता नदेखाएको आरोप लगाएका हुन् ।

देशलाई चाहिएको शान्ति सुरक्षामा सरकार उदासीन देखिएको औंल्याउँदै अध्यक्ष ओलीले भने, “पत्रकारहरू आफैं सेल्फ सेन्सरसिप गर्न बाध्य छन्। कसको पक्षमा लेखिदिने भन्ने त्रास छ। प्रधानन्यायाधीशले समेत धम्की आएको छ भन्ने अवस्था छ। निर्वाचन आयोग त्रासमा छ। प्रहरीको मनोबल खस्किएको छ। जनताले प्रहरीको बस्ने ठाउँ बनाइदिएका छन्। जेल फोड्ने र आपराधिक गतिविधि गर्नेहरूको मुद्दा फिर्ता लिने काम भइरहेको छ । यस्तो स्थितिमा शान्ति सुरक्षाको अवस्था नाजुक छ।”

झापाका प्रहरी प्रमुख फेरिएको सन्दर्भ जोड्दै ओलीले भने, “म २५ वर्षअघि गृहमन्त्री भएको बेला यस्तो कहिल्यै गरिनँ । निष्पक्षता हुन्छ कि भन्ने डरले सरुवा गरिएको हो। सबै दलले आ–आफ्नो पक्षबाट सरुवा माग गर्न थाले भने सुरक्षाकर्मीले कसरी काम गर्न सक्छन् ।

ओलीले आफ्नो कार्यकालमा झापाको मुहार फेर्ने गरी विकासका काम भएको दाबी गरे। प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि मंगलबार उम्मेदवारी दर्ताका लागि गृह क्षेत्र आउँदै गर्दा उनले झापामा भएका विकासका काम हेर्न र सही रिपोर्टिङ गर्न पत्रकारहरुलाई आग्रह समेत गरे ।

पुर्व प्रधानमन्त्री समेत रहेका ओलीले झापामा धेरै परिवर्तन भएको उल्लेख गर्दै “बाटाघाटाको हिसाबले विकास हेर्न सँगसँगै घुमौं, हेरौं ।  झापामा घर पातला भए, बाटा बाक्ला भए । बाटा सफा छन् । हुन त फलानो उम्मेदवार आउने भयो भनेर बाटा सफा भयो भन्न पनि सकिन्छ। आधारभूत विकास भएका छन्। विकास निरन्तर हुने प्रक्रिया हो। शिक्षामा उत्तरतिर प्रगति भएको छ, दक्षिणतिर अझ बढी जोड दिनुपर्छ।” ओलीले भने ।

More From Author

ओली र बालेनविच चुनावी प्रतिस्पर्धा,मुलुककै सर्वाधिक चर्चामा झापा क्षेत्र नम्बर ५

२० हजार विद्यार्थीलाई निःशुल्क पढाउनु समाजवाद हो, ‘बिना ढेउवा के’ विदेश पठाउनु होइन : बालेन

Leave a Reply

Your email address will not be published. Required fields are marked *