काठमाडौं । निर्वाचन आयोगमा नेपाली कांग्रेसका २ पक्षबीच भिडन्त हुन सक्ने जोखिम बढेको छ । विशेष महाधिवेशनबाट नवनिर्वाचित सभापति गगन थापाको टोली निर्वाचन आयोगमै रहेका बेला संस्थापन पक्षको टोली पनि पार्टी कार्यालय सानेपाबाट आयोग जानका लागि हिँडेको छ ।
आयोगमा २ पक्षको भेट भएमा भिडन्त हुन सक्ने जोखिम देखिएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । केही बेरअघि देउवा पक्षका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफूहरूविरुद्ध निर्णय भए प्रतिकारका लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिएका थिए । उता गगन पक्षका नेताहरू आफ्नो पक्षलाई मान्यता दिन माग गर्दै आयोगअगाडि धर्नामा बसेका छन् ।
शुक्रबार अपराह्न सानेपामा पत्रकार सम्मेलन गरेर कार्यवाहक सभापति खड्कासहितको टोली निर्वाचन आयोगतिर लागेको हो । विशेष महाविधेशनबाट गगन थापाको नेतृत्वमा गठन भएको कार्यसमितिका पदाधिकारी र सदस्य पनि निर्वाचन आयोगमै छन्। उनीहरू निवार्चन आयोगका पदाधिकारीसँग छलफल गरिरहेका छन्।
यसअघि शुक्रबार बिहान शेरबहादुर देउवा पक्षले आधिकारिकताको दाबी गर्दै निर्वाचन आयोगमा कागजात बुझाएको थियो। त्यस्तै थापा नेतृत्वको टोलीले आधिकारिकताका लागि विशेष महाधिवेशनको विवरणसहित बिहीबार निवेदन दिएको थियो।
