ठगी धन्दा चलाउने १३ जापानी पक्राउ

टोकियो – कम्बोडियामा बसेर संगठित रूपमा ठगी धन्दा चलाएको आरोपमा १३ जना जापानी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । कम्बोडियाली अधिकारीहरूले पक्राउ गरी देशनिकाला गरेपछि उनीहरूलाई जापान आइपुग्नेबित्तिकै टोकियो प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरू २० देखि ६३ वर्ष उमेर समूहका रहेका छन् । गत नोभेम्बरमा कम्बोडिया र भियतनामको सीमावर्ती शहर बाभेटमा सञ्चालित एक ‘कल सेन्टर’ (ठगी अखडा) बाट उनीहरूलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको थियो । सो अखडामा जापानीबाहेक फिलिपिन्स र भियतनामका नागरिकसहित ५० भन्दा बढी व्यक्तिहरू संलग्न रहेको बताइएको छ ।

प्रारम्भिक अनुसन्धानका अनुसार यो समूहले जापानमा रहेका व्यक्तिहरूलाई तारन्तार फोन गरेर विभिन्न बहानामा रकम ठग्ने गरेको पाइएको छ । उनीहरूले कानागावा प्रान्तकी एक ६० वर्षीया महिलालाई ११ करोड येन (करिब ६९ हजार अमेरिकी डलर) ठगी गरेको मुख्य आरोप छ ।

ठगीका क्रममा उनीहरूले आफूलाई प्रहरी अधिकारीका रूपमा चिनाउने गरेका थिए । ती महिलालाई ‘तपाईँको नाम मनी लान्ड्रिङ (सम्पत्ति शुद्धीकरण) मा जोडिएको र अनुसन्धानका लागि रकम जम्मा गर्नुपर्ने’ भन्दै मनोवैज्ञानिक दबाब दिएर रकम हत्याएको खुलेको छ ।

जापानी प्रहरीले दिएको जानकारी अनुसार यो गिरोहले एक दर्जनभन्दा बढी व्यक्तिहरूबाट कुल ३ लाख १४ हजार डलरभन्दा बढी रकम ठगी गरिसकेको आशंका गरिएको छ । प्रहरीले यस आपराधिक अखडाको सञ्चालन कसरी भइरहेको थियो र पक्राउ परेका व्यक्तिहरू कसरी यो सञ्जालमा जोडिन पुगे भन्नेबारे विस्तृत अनुसन्धान सुरु गरेको छ ।

पक्राउ परेकाहरूले आरोप स्वीकार गरे/नगरेको बारे प्रहरीले अहिलेसम्म केही खुलाएको छैन । पछिल्लो समय दक्षिण–पूर्वी एसियाली मुलुकहरूलाई केन्द्र बनाएर साइबर अपराध र वित्तीय ठगीका घटनाहरू बढ्दै गएपछि जापान सरकारले यस्ता गिरोहविरुद्ध सक्रियता बढाएको छ ।

 

More From Author

जापानबाट चीन जाने यात्रुको संख्यामा भारी गिरावट

थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

Leave a Reply

Your email address will not be published. Required fields are marked *