जापानमा रहेका नेपाली पत्रकारलाई प्रोत्साहन गर्न पुरस्कार र कल्याण कोष स्थापना

टोकियो ।  नेपाल पत्रकार महासंघ जापान शाखाले प्रवासमा सक्रिय नेपाली पत्रकारहरूको योगदानको कदर गर्दै ‘प्रवास पत्रकारिता पुरस्कार’ स्थापना गर्ने तथा १० लाख येनको ‘पत्रकार कल्याण कोष’ सञ्चालनमा ल्याउने निर्णय गरेको छ। शाखाको हालै सम्पन्न नियमित दोश्रो बैठकले उक्त महत्वपूर्ण निर्णय गर्दै प्रवास पत्रकारितालाई थप व्यवस्थित, सम्मानित र सुरक्षित बनाउने उद्देश्य राखेको जनाएको छ।

बैठकले आगामी मार्च १५ तारिखमा मनाइने शाखाको १५औँ स्थापना दिवसलाई विशेष बनाउने निर्णय पनि गरेको छ। सोही अवसरमा प्रदान गरिने गरी ५० हजार रुपैयाँ राशीको ‘प्रवास पत्रकारिता पुरस्कार’ स्थापना गरिएको हो। प्रवासमा रहेर नेपाली पत्रकारितामा उल्लेखनीय योगदान पुर्‍याउने पत्रकारलाई प्रोत्साहन र सम्मान गर्ने उद्देश्यले पुरस्कार स्थापना गरिएको महासंघले जनाएको छ।

पुरस्कारलाई पारदर्शी र व्यवस्थित रूपमा सञ्चालन गर्न मापदण्ड तथा कार्यविधि तयार गर्ने जिम्मेवारी सहित तीन सदस्यीय समिति गठन गरिएको छ। समितिको संयोजकको जिम्मेवारी पत्रकार खगराज गौतमलाई दिइएको छ भने सदस्यमा दिनेश कुमार थपलिया र इन्दिरा खनाल रहेका छन्। समितिले चाँडै कार्यविधि तयार गरी कार्यसमितिमा पेस गर्ने जनाएको छ।

यसैगरी, प्रवासमा कार्यरत पत्रकारहरूको हित र कल्याणलाई ध्यानमा राख्दै १० लाख येनको पत्रकार कल्याण कोष स्थापना गर्ने निर्णय पनि गरिएको छ। स्वास्थ्य उपचार, आकस्मिक समस्या, विपद् तथा आपतकालीन अवस्थाका बेला पत्रकारलाई सहयोग पुर्‍याउने उद्देश्यले उक्त कोष स्थापना गरिएको हो। कल्याण कोष सञ्चालन सम्बन्धी कार्यविधि महासंघ जापान शाखाका निवर्तमान अध्यक्ष शान्त पहरीको संयोजकत्वमा तयार पारिएको कार्यविधिलाई आवश्यक संशोधन सहित बैठकले पारित गरेको जनाएको छ।

कोषलाई दीर्घकालीन रूपमा प्रभावकारी बनाउन कार्यसमिति सदस्य, साधारण सदस्य, जापानस्थित नेपाली संघ–संस्था, व्यवसायी तथा शुभेच्छुकहरूलाई सहयोगका लागि आह्वान गरिएको छ। महासंघले गरेका यी निर्णयहरूले प्रवासमा नेपाली पत्रकारिताको संस्थागत विकास, पत्रकारहरूको हक–हित संरक्षण तथा पेशागत मर्यादा सुदृढ गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

More From Author

टोकियोमा फिल्मी शैलीमा ४२ करोड येन लुटपाट

बानेश्वरमा बस्ने छैन फागुन २१ पछिको प्रतिनिधि सभा बैठक

Leave a Reply

Your email address will not be published. Required fields are marked *