टोकियोमा फिल्मी शैलीमा ४२ करोड येन लुटपाट

टोकियो : जापानको राजधानी टोकियोको उएनो जिल्लामा बिहीबार राति एक समूहले सात जना व्यक्तिलाई आक्रमण गरी करिब ४२ करोड जापानी येन (झन्डै २७ लाख अमेरिकी डलर) नगद राखिएको सुटकेस लुटेको छ । यो घटनाको केही घण्टापछि हनेदा विमानस्थलमा पनि सोही प्रकृतिको लुटपाटको प्रयास भएपछि प्रहरीले दुवै घटना र हङकङमा भएको अर्को लुटपाटबीच सम्बन्ध हुनसक्ने आशंकामा अनुसन्धान अघि बढाएको छ ।

प्रहरीका अनुसार बिहीबार राति ९:३० बजे ताइतो वार्डस्थित जेआर ओकाचिमाची स्टेसन नजिकै सात जनाको समूहले तीनवटा सुटकेसमा रकम लोड गरिरहेका बेला तीन जना लुटेराहरूले आक्रमण गरेका थिए । लुटेराहरूले ४० वर्षका एक चिनियाँ नागरिकमाथि ‘पेप्पर स्प्रे’ (खुर्सानीको धुलोयुक्त स्प्रे) छर्किएर नगद भरिएका सुटकेसहरू लिएर फरार भएका थिए ।

लुटेराहरू भाग्ने क्रममा एउटा निलो रङको कार छाडेर अर्को सेतो भ्यानमा चढेको देखिएको छ । उक्त भ्यानको मालिकको सम्बन्ध आपराधिक गिरोह (ग्याङ्गस्टर) सँग हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ । भाग्ने क्रममा लुटेराहरूको गाडीले ठक्कर दिँदा ५० वर्षका एक पैदल यात्री सामान्य घाइते भएका छन् ।

उएनोको घटना भएको केही घण्टापछि शुक्रबार बिहानै हनेदा विमानस्थलको पार्किङमा अर्को लुटपाटको प्रयास भएको थियो । १९ करोड येन नगद बोकेका ५० वर्षीय एक जापानी नागरिकमाथि चार जनाको समूहले पेप्पर स्प्रे प्रहार गरेका थिए । यद्यपि, लुटेराहरू रकम लुट्न भने असफल भए । ती व्यक्ति सोही नगद लिएर पछि हङकङ प्रस्थान गरेका थिए ।

पीडितहरूका अनुसार यो ठूलो परिमाणको नगद हनेदा विमानस्थल हुँदै हङकङ लैजाने र त्यहाँ जापानी येनलाई हङकङ डलरमा साट्ने योजना थियो ।

यसैबीच, हङकङको सेउङ वानमा शुक्रबार बिहान दुई जना जापानी नागरिकबाट ५ करोड ८० लाख येन लुटिएको समाचार सार्वजनिक भएको छ । हङकङ प्रहरीले उक्त घटनामा संलग्न रहेको आशंकामा कम्तीमा एक जनालाई पक्राउ गरेको जनाएको छ । टोकियो प्रहरीले हनेदा विमानस्थलबाट नगद लिएर हङकङ पुगेका व्यक्ति नै पुनः निशानामा परेको हुनसक्ने सम्भावनाबारे अनुसन्धान गरिरहेको छ ।

More From Author

श्रम संकटको चपेटामा जापान: विदेशी कामदारको संख्याले पुनः रच्यो इतिहास

जापानमा रहेका नेपाली पत्रकारलाई प्रोत्साहन गर्न पुरस्कार र कल्याण कोष स्थापना

Leave a Reply

Your email address will not be published. Required fields are marked *