टोकियो । जापानमा विदेशी कामदारको संख्याले पुनः नयाँ उचाइ चुमेको छ । जापान सरकारले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार, गत अक्टोबर महिनाको अन्त्यसम्ममा विदेशी कामदारको संख्या २५ लाख ७१ हजार ३७ पुगेको छ । यो संख्या जापानको इतिहासमै अहिलेसम्मकै उच्च हो ।
जापानमा चुलिँदो श्रम संकटका कारण विदेशी जनशक्तिको माग बढ्दै जाँदा लगातार १३ औँ वर्ष विदेशी कामदारको संख्यामा नयाँ रेकर्ड कायम भएको हो । अघिल्लो वर्षको तुलनामा यो संख्यामा ११.७ प्रतिशतले वृद्धि भएको छ । जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयका अनुसार विदेशी कामदार नियुक्त गर्ने कार्यस्थलको संख्यामा पनि ८.५ प्रतिशतले वृद्धि भई ३ लाख ७१ हजार २१५ पुगेको छ । कुल कार्यस्थलमध्ये ६३.१ प्रतिशत त ३० जनाभन्दा कम कर्मचारी भएका साना व्यवसायहरू रहेका छन् । यसले जापानका साना तथा मझौला उद्योगहरू विदेशी कामदारमा बढी निर्भर रहेको देखाउँछ ।
कुन क्षेत्रमा कति कामदार?
क्षेत्रगत रूपमा ‘म्यानुफ्याक्चरिङ’ (उत्पादन) क्षेत्रमा सबैभन्दा बढी ६ लाख ३५ हजार ७५ जना विदेशी कामदार कार्यरत छन्, जुन कुल संख्याको २४.७ प्रतिशत हो । यस्तै, सेवा क्षेत्र (खानपान बाहेक) मा ३ लाख ९१ हजार ९४६ जना कार्यरत छन् ।
तथ्यांकअनुसार चिकित्सा र कल्याणकारी (मेडिकल एन्ड वेलफेयर) क्षेत्रमा विदेशी कामदारको संख्या सबैभन्दा तीव्र गतिमा बढेको छ । यस क्षेत्रमा अघिल्लो वर्षको तुलनामा २५.६ प्रतिशतको वृद्धि देखिएको छ । श्रम अभाव भएका उद्योगहरूका लागि लक्षित ‘स्पेसिफाइड स्किल्ड वर्कर’ भिसा वाहकहरूको संख्यामा पनि ३८.३ प्रतिशतले वृद्धि भई २ लाख ८६ हजार २२५ पुगेको छ ।
विदेशी कामदारहरूमा भियतनामी नागरिकहरूको हिस्सा सबैभन्दा ठूलो छ। कुल विदेशी कामदारमध्ये २३.६ प्रतिशत (६ लाख ५ हजार ९०६ जना) भियतनामी छन् । दोस्रो स्थानमा चिनियाँ नागरिक (४ लाख ३१ हजार ९४९) र तेस्रो स्थानमा फिलिपिनो नागरिक (२ लाख ६० हजार ८६९) रहेका छन् ।
फेब्रुअरी ८ मा हुन गइरहेको जापानको ‘हाउस अफ रिप्रिजेन्टेटिभ्स’ (तल्लो सदन) को निर्वाचनमा विदेशी बासिन्दाहरूको व्यवस्थापन र सामाजिक एकता प्रमुख मुद्दाको रूपमा उठेको छ । विदेशीहरूलाई स्वीकार गर्ने नियमहरूलाई थप कडा बनाउने वा उनीहरूलाई जापानी समाजमा कसरी घुलमिल गराउने भन्ने विषयमा राजनीतिक दलहरूबीच बहस केन्द्रित हुन थालेको छ ।
