१२०० मेगावाटको बूढीगण्डकी जलविद्युत आयोजना निर्माणतर्फ अघि बढ्दै

काठमाडौं । १२०० मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत आयोजना निर्माणको चरणतर्फ अघि बढेको छ । यस आयोजनाको लगानीको ढाँचामा अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगबीच सहमति भएसँगै निर्माणका लागि प्रक्रिया अघि बढेको हो ।

बूढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना राष्ट्रिय गौरवको आयोजना हो । निर्वतमान उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले समाजिक सञ्जला फेसबुकमा लेख्दै यस सहमतिले दशकौँदेखि प्रतीक्षामा रहेको परियोजनालाई ठोस रूप दिनुका साथै अब मन्त्रिपरिषद्बाट निर्णय हुने चरणमा पु¥याएको बताएका छन् ।

यस आयोजनाको आधारभूत लागत २ अर्ब ७७ करोड अमेरिकी डलर (करिब ३ खर्ब ७४ अर्ब रुपैयाँ) रहेको छ । प्रस्तावित लगानी मोडालिटीअनुसार ७० प्रतिशत कर्जा र ३० प्रतिशत स्वःपूँजी (इक्विटी) बाट पूँजी जुटाइने योजना बनाइएको छ । सरकारको इक्विटी भागबाट ९७ अर्ब ४७ करोड रुपैयाँ र सहुलियतपूर्ण कर्जा मार्फत १ खर्ब ५० अर्ब रुपैयाँ जुटाउने गरी कुल २ खर्ब ४८ अर्ब रुपैयाँ लगानी हुने अपेक्षा छ । यसअघि सरकारले आयोजनामा गरेको ४५ अर्ब रुपैयाँ शेयर लगानीमा रुपान्तरण गरिनेछ ।

घिसिङले भनेका छन, ‘स्वदेशी लगानीमै यति ठूलो आयोजना बनाउन सकिन्छ भन्ने आत्मविश्वाससाथ यो मोडालिटी तयार गरिएको हो । वर्षौंदेखि अन्योल, बहस र प्रतिक्षामा सीमित रहेको बूढीगण्डकी अब निर्माणतर्फ अघि बढ्ने मोडमा आइपुगेको छ । अब ढिलाइ गर्ने छुट छैन, काम थाल्नै पर्छ ।’ उनले थपे,‘यो आयोजना केवल विद्युत उत्पादनका लागि मात्र होइन, देश आत्मनिर्भर बन्ने विश्वासको ठोस आधार पनि हो । मेरो ११५ दिनको कार्यकालमा यो उर्जा क्षेत्रमा भएको एउटा महत्वपूर्ण उपलब्धि हो ।’

More From Author

एक्लिँदै देउवा, एक दिनमै थुप्रै शीर्ष नेताले छाडे साथ

चन्द्रागिरी केबलकारमा स्थानीयलाई ५० प्रतिशत छुट

Leave a Reply

Your email address will not be published. Required fields are marked *